• शुक्रबार ७-१३-२०८३
  • 07:39:49

कपिलवस्तुकी सफल व्यवसायी बनेकी उषा भन्नुहुन्छ ः बिदेसिएका श्रीमानलाई फर्काउँनु छ ।

कपिलवस्तु कार्तिक २३ ।
नेपालमा प्राय धन कमाउन श्रीमान विदेश गएपछि त्यसै कमाइमा परिवार आश्रित हुने गर्छन् । तर कपिलवस्तु वाणगंगा नगरपालिका–२ नन्दनगरकी उषा अर्यालको हकमा भने यो अवस्था ठ्याक्कै विपरीत छ । पति बिदेसिएपछि उहा स्वरोजगार हनुभएको छ । ३ वर्षअघि कृषिमा सामान्य लगानी गरे पछि उषाको आर्थिक अवस्थामा सुधार भएको थियो । नियमित आम्दानी हुन लागेपछि उनी अहिले बिदेसिएका पतिलाई फर्काउने सुरमा हुनुहुन्छ । पतिले पठाएको रकमले पशुपालन व्यवसाय थालेकी उहा अहिले सक्षम भइसक्नुभयो । अर्यालले तीन वर्षअघि एउटा भैँसीबाट पशुपालन व्यवसाय थाल्नुभएको थियो । ३ वर्षभित्र नै उहाका गोठमा गाई र भैँसी गरी २८ वटा पुगिसके । डेढ लाखको लगानीबाट सुरु भएको व्यवसाय अहिले २५ लाख बढीको छ । दैनिक ७० लिटर दूध बेच्दै आउनुभएको छ । 


स्थानीय बजारमा दूधको माग बढ्दै गएपछि उनलाई दूध बिक्री गर्न कुनै समस्या छैन । सहकारीमार्फत दूध बिक्री गर्दा मासिक ७० हजार आम्दानी हुने उहा बताउनुहुन्छ । सुरुमा एक्लै गरे पनि अहिले स्थानीय एक जना महिलालाई पनि उहाले सहयोगीको रूपमा राख्नुभएको छ । डेढ बिघा खेतमा घाँस लगाउनुभएको छ ।  सँगै उहाले यसै वर्षदेखि १ कट्ठा जग्गामा सयपत्री फूलको खेती पनि गर्नुभएको छ । अघिल्लो वर्ष परीक्षणका लागि पाँच हजारको लगानीमा सयपत्री फूल लगाएको र  ५० हजार रुपैयाँ कमाएको सुनाउनुभयो । मुनाफा भएपछि फूल व्यवसायतिर पनि उहाको चासो बढेको छ । यस वर्ष ४५ हजारको लगानीमा गरिएको खेतीबाट करिब डेढ लाखको फूलको कारोबार गर्ने लक्ष्य उहाको छ । विदेशको कमाइले मात्र केही नहुने उहालाई लागेको छ। विदेश गएका श्रीमानलाई स्वदेशमा नै पसिना बगाए सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिँदै स्वदेश फर्काउने सपना छिट्टै पूरा हुनेमा अर्याल ढुक्क हुनुहन्छ । यता गत वर्ष बाणगंगा नगरपालिकाबाट गोठ सुधारका लागि अनुदान पाएपछि भने केही उत्साहित भएकी उनी वास्तविक किसानको हकमा भने सरकारको ध्यान नपुगेको अर्यालले गुनासो छ । उनका पति केशव १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा छन्।

प्रतिकृया दिनुहोस
↑