• शुक्रबार ७-१३-२०८३
  • 07:34:39

जीतपुरमा ठेला व्यापारको बिगबिगी जीतपुरमा ठेला व्यापारको बिगबिगी ।।


जीतपुर, कपिलवस्तु — बाणगंगा नगरपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित चार नम्बर जीतपुरमा अव्यवस्थित रूपमा बढ्दै गएको ठेला व्यापारले स्थानीय व्यवसायीहरू समस्यामा परेको गुनासो गरेका छन्।
वर्षौंदेखि सटर भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरूका अनुसार पछिल्लो समय मुख्य बजार तथा चोक आसपासमा ठेला व्यवसायीहरूको संख्या बढ्दै जाँदा आफूहरूको व्यापारमा प्रत्यक्ष असर परेको छ। नियमित रूपमा घरभाडा, कर, व्यवसायसम्बन्धी शुल्क तथा अन्य खर्च व्यहोर्दै आएका स्थायी व्यापारीहरूलाई ठेला व्यापारको बढ्दो चापले थप चुनौती सिर्जना गरेको उनीहरूको भनाइ छ।
स्थानीय व्यापारीहरूका अनुसार उद्योग वाणिज्य संघको सदस्यका रूपमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरूको समस्या सम्बोधन गर्ने प्रभावकारी पहल हुन नसकेको गुनासो छ। उनीहरूले आफूहरूका समस्या सम्बन्धित निकायसम्म पटक–पटक पुर्‍याए पनि अपेक्षित सुनुवाइ नभएको बताएका छन्।
ठेला व्यापारका कारण बजार क्षेत्रमा पैदल यात्रु तथा सवारीसाधनको आवागमनमा समेत समस्या बढ्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ। मुख्य सडक तथा व्यापारिक क्षेत्रमा जहाँ पायो त्यहीँ ठेला राखेर व्यापार गर्दा बजार व्यवस्थापन चुनौतीपूर्ण बनेको उनीहरूको दाबी छ।
चोकमा रहेका केही व्यवसायीहरूले ठेला व्यवसायीहरूलाई पटक–पटक सम्झाइ–बुझाइ गर्दै निश्चित स्थानमा बसेर व्यापार गर्न आग्रह गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन्। उनीहरूका अनुसार समस्या ठेला व्यवसायीमाथि मात्र दोष थोपर्ने नभई नगरपालिकाले व्यवस्थित स्थान तोकेर सबैलाई व्यापार गर्ने वातावरण सिर्जना गर्नुपर्ने हो।
स्थानीय व्यापारीहरू प्रश्न गर्छन्—“हामीले वर्षौंदेखि सटरको भाडा तिरेर, कर तिरेर र विभिन्न दायित्व पूरा गरेर व्यापार गरिरहेका छौँ। तर बजारमै अव्यवस्थित रूपमा ठेला राखेर व्यापार हुँदा हाम्रो व्यवसायमा प्रत्यक्ष असर परेको छ। हाम्रो समस्या कसले सुनिदिने?”
यता, बाणगंगा नगरपालिका स्थानीय सरकार भएकाले बजार व्यवस्थापन, फुटपाथ तथा सार्वजनिक स्थानको उचित प्रयोग र ठेला व्यवसायलाई व्यवस्थित गर्ने जिम्मेवारी नगरपालिकाको पनि रहेको व्यापारीहरूको भनाइ छ। उनीहरूले ठेला व्यवसायीलाई विस्थापित गर्नेभन्दा पनि निश्चित स्थान तोकेर व्यवस्थित गर्नुपर्ने र सटरमा व्यवसाय गर्ने व्यापारीहरूको लगानी तथा समस्यालाई समेत समान रूपमा सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
व्यापारीहरूको माग : व्यवस्थित बजार, सबैका लागि समान नियम
व्यापारीहरूले नगरपालिकासँग ठेला तथा फुटपाथ व्यापारका लागि निश्चित क्षेत्र तोक्नुपर्ने, मुख्य बजार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने, पैदलमार्ग तथा सडक अतिक्रमण नियन्त्रण गर्नुपर्ने र स्थायी व्यवसायी तथा साना ठेला व्यवसायी दुवैको हितलाई ध्यानमा राखेर स्पष्ट नीति बनाउनुपर्ने माग गरेका छन्।
जीतपुरलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने हो भने एक पक्षको व्यापारलाई संरक्षण गर्ने र अर्को पक्षको रोजगारी खोस्नेभन्दा पनि सबैलाई समान नियमभित्र ल्याएर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।
अब स्थानीय व्यापारीहरूले उठाएको यो विषयमा बाणगंगा नगरपालिका र सम्बन्धित निकायले कहिले र कस्तो कदम चाल्छन्, त्यसतर्फ जीतपुरका व्यवसायी तथा स्थानीयवासीको ध्यान केन्द्रित भएको छ

प्रतिकृया दिनुहोस
↑