बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी ।।
बुटवल ।
‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मेला सञ्चालन हुनेछ । मेलामा ४ सय ५० देखि ५ सयसम्म स्टल तथा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन् । स्वदेशी उत्पादन, स्थानीय तथा महिला उद्यमीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा, अटोमोबाइल, बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीलगायतका उत्पादन तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, योग शिविर, रक्तदान तथा पर्यटन र युवा उद्यमसम्बन्धी गोष्ठी मेलाका प्रमुख आकर्षण रहनेछन् । १४ दिन सञ्चालन हुने मेलाबाट करिब ५० करोड रुपैयाँ बराबरको कारोबार र ८ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ ।













प्रतिकृया दिनुहोस