• शुक्रबार ७-१३-२०८३
  • 09:34:13

कपिलवस्तुमा  अवैध सामान सहित मोटरसाइकल नियन्त्रणमा ।।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्राइएका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ । विजयनगर गाउँपालिका वडा नम्बर ६ अन्तर्गत जुडपनिया सडक खण्डमा अस्थायी प्रहरी पोस्ट खडैचाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको फलफूल बोकेको मोटरसाइकल पक्राउ गरेको हो। प्रहरीले मोटरसाइकलमा केरा, आँप र अनारसहित करिब १२ हजार पाँच सय रुपैयाँ बराबरको फलफूल रहेको जनाएको छ। बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरीले जनाएको छ।त्यसैगरी, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ वर्गदवास्थित इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी मोटरसाइकलमा ल्याइँदै गरेको सामान बरामद गरेको छ। प्रहरीले करिब ४ हजार ८ सय रुपैयाँ बराबरका पेय पदार्थ तथा १२ हजार रुपैयाँ बराबरको चिनी बरामद गरेको जनाएको छ।  प्रहरीलाई देख्नेबित्तिकै सम्बन्धित व्यक्ति सामान छाडेर मोटरसाइकल सहित फरार भएका थिए। स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहबरमा पेय पदार्थ नष्ट गरिएको तथा चिनी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।यस्तै, कृष्णनगर नगरपालिका क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको कुखुराको चल्लासहित मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णनगर नगरपालिका–१२ जोसिडिवा क्षेत्रमा यूपी ५१ जे ७०९८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको १० कार्टुन कुखुराको चल्ला बरामद गरिएको हो। चल्लाको मूल्य करिब १ लाख रुपैयाँ तथा मोटरसाइकलको मूल्य पनि १ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चालक मोटरसाइकल र चल्ला छाडेर फरार भएका थिए। स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहबरमा कुखुराका चल्ला नष्ट गरिएको तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।
 

प्रतिकृया दिनुहोस
↑