सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुको नवौ सभासम्पन्न

कुलराज भुसाल कपिलवस्तु , १८ पुस ।
प्रदेश नं. ५ का प्रदेश सांसद विष्णु पन्थीले अबको शिक्षा अनुसन्धानमा आधारित हुनु पर्ने बताउनु भएको छ । युगको माग अनुरुप शिक्षाको विकास गर्नु अपरिहार्य भएको औंल्याउदै उहाँले बर्तमान युगको माग भनेकै अनुसन्धान मुलक र दैनिक जीवनसंग सम्बन्धीत व्यवहारिक शिक्षा भएको बताउनु भयो । सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुको नवौं क्याम्पस सभालाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताउनु भएको हो । सो अवसरमा सांसद पन्थीले सिद्धार्थ क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा पनि विकास गर्दै लैजानु पर्ने सुझाव दिनु भएको थियो । गुणस्तरिय, प्राविधिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीहरुको प्रमुख गन्तव्य सिद्धार्थ क्याम्पस बन्नु पर्ने सुझाव समेत दिनु भयो । आफूले क्याम्पसलाई निकै महत्वका साथ हेरेको र क्याम्पसको विकासमा सदैब पहल कदमी लिदै अग्रसर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । 


सभालाई सम्बोधन गर्दै पूर्व सांसद तथा संविधान सभा सदस्य डोरप्रसाद उपाध्यायले शैक्षिक संस्थाको सफलता भनेकै सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने गरि शैक्षिक गुणस्तर कायम गर्नु भएकाले क्याम्पसले त्यस्तो गुणस्तर कायम गर्न अग्रसर हुनु पर्ने बताउनु भयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरपालिकाले क्याम्पसको विकासमा निरन्तर आर्थिक सहायता प्रदान गरिरहेको स्मरण गर्र्दै क्याम्पसको अतिक्रमित जग्गा फिर्ता गर्न नगरपालिकाले सार्थक पहल गरिरहेको बताउनु भयो । उहाँले क्याम्पसको जग्गा विवाद मिलाउन स्थानिय बासी, राजनैतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगाएत सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक रहेको औल्याउन भयो । 


यस्तै नवौ सभामा बोल्दै क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण पौडेल, नेकपा बाणगंगा नगर कमिटी अध्यक्ष विश्व कार्की, अर्घाखाँची निवासी शिक्षा प्रेमी मिनप्रसाद घिमिरे आ आफ्नो भनाई राख्नु भएको थियो । सो अवसरमा क्याम्पस प्रमुख बालाराम ज्ञवालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । क्याम्पस प्रमुखले प्रतिवेदन मार्फत अघिल्लो वर्षको तुलनामा विद्यार्थी भर्ना, उत्तिर्ण प्रतिशत लगाएत समग्र क्याम्पसको विकासमा प्रगति भएको विवरणहरु सार्वजनिक गर्नु भएकोे थियो । 


२०४८ सालमा स्थापना भएको क्याम्पसलाई मध्य पश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस बनाउन सफल भएको, स्नातक तहमा भर्ना जारिरहेकै अवस्थामा पनि हाल सम्म १२ सय ८ विद्यार्थी भर्ना भईसकेको, उत्तिर्ण प्रतिशत पनि बृद्धि भई कक्षा ११ मा ९७ र कक्षा १२ मा ९८ प्रतिशत विद्यार्थीहरु उतीर्ण गरेको त्यस्तै स्नातक तहको नतिजा पनि गत वर्षको भन्दा ८.४४ पतिशतले बृद्धि भएको लगाएतका प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो । सभामा आर्थिक प्रतिवेदन आन्तरिक लेखा परिक्षण समितिका संयोजक सोमनाथ अर्यालले आर्थिक वर्ष २०७४÷०७५ को कुल २ करोड ९४ लाख ५ हजार ७ सय ४४ रकम आम्दानी भएको र कुल खर्च २ करोड ७२ लाख ७ हजार ५ सय ७४ र खुद बचत २१ लाख ३५ हजार १ सय ७० भएको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलले सबै सरोकारवालाहरुको सामुहिक पहल कदमीबाट क्याम्पस निरन्तर प्रगति पथमा अघि बढ्न सम्भव भएको बताउनु भयो । अध्यक्ष पोख्रेलले क्याम्पसले अब क्रमश नयाँ नयाँ विषय तथा कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिएको जानकारी गराउदै तत्काल वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँले सबै वक्ताले दिनुभएको सुझाव सान्र्दभिक र महत्वपूर्ण भएकाले क्रमश त्यस्ता सुझावहरु अवलम्वन गर्दै क्याम्पस अघि बढ्ने प्रतिद्धता समेत जाहेर गर्नु भयो । प्राध्यापक प्रतिनिधि गोविन्द खनालको सञ्चालन र संचालक समिति उपाध्यक्ष रबीबहादुर काफ्लेको स्वागतमा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य विमला घिमिरेले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस