आज नेपाल सम्बत ११३९, गरिब नागरिकको ऋणमोचन गरिदिने शङ्खधर साख्वाको सम्झना

 कात्तिक २२ काठमाडौं –

आज नेपाल सम्बत ११३९, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्टिय विभूति शङ्खधर साख्वाले ९३७ सालमा गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गराउनुभएको थियो । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर त्रिरत्न मानन्धरले बताउनुभयोे ।

नेपाल सम्बतलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । यसैबीच नेवा मंक खलःका संस्थापक पद्यमरत्न तुलाधरको निधनका कारण काठमाडौंमा नेपाल सम्बतका अवसरमा आयोजना गरिने सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ । भक्तपुरको थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले भने नेपाल सम्बतको अवसरमा प्रत्येक वर्ष गर्दै भएको कायर्कमलाई निरन्तरता दिने भएको छ । आजै नेवार समुदायमा म्हः अर्थात आत्मा पूजा पनि गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म अर्थात म्ह पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गरी आत्मसन्तुष्ट बन्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन सार्थक हुने विश्वास गरिन्छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले तिहार तथा नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस