अर्घाखाँचीको मौलिक संस्कृति भैरब नाच जोगाउन जुटे युवा


  कात्तिक २१अर्घाखाँची – 

अर्घाखाँचीमा मात्र नाचिने भैरव नाचको संस्कृति जोगाउन डिभर्नाका नेवार समुदायका युवाहरु लागि परेको छन । भैरव नाच कृष्ण जन्माष्टमीबाट सुरु भई कात्तिक कृष्ण औंसीका दिनसम्म नाच्ने गरिन्छ । रातमा नाचिने यो नाच नचाउन बुटबल तथा कपिलवस्तुबाट समेत माग आउनुगरेको छ ।  नेवार समुदायको  मौलिक नाचको रुपमा रहेको भैरव नाचमा  कालो, रातो, सेतो भैरव र डंकेनीको रुपमा नाच्ने चलन छ ।

कालो भैरवलाई यस नाचमा काल भैरवको प्रतीक, रातो भैरवलाई देवी र सेतोलाई गणेशको प्रतीकको रुपमा लिइने चलन छ । भैरव नाचमा ७ ताल हुने डिभर्नाका स्थानीय बसन्त श्रेष्ठले बताउनुभयो । जसको छैठौँ तालमा धामीहरुलाई स्वतह देवता उत्रने हुँदा काम्ने र नाच्ने गर्दछन् । यो नाचमा अन्य विभिन्न नाचहरु पनि देखाइने चलन छ । भैरव नाचको समापन पछि भुच्यांङ्ग, टाकुनडोली अर्थात लाठी नाच, घोडा नाच, चरा नाच, भालु नाच तथा ढिसपाकु अर्थात लाटा लाटीको प्रस्तुति पनि क्रमैसँग देखाइन्छ । भैरव नाचमै लीला नाच, लाहुरे लाहुरेनी तथा अन्य विभिन्न हाँस्य व्यंग्य प्रस्तुति समेत देखाइन्छ ।

नेवार जातिमा यो नाच बुढा पाकाहरु हुँदै पुस्तान्तरण भएको छ । तर पछिल्लो समयमा भने यो नाचमा नयाँ युवा पुस्ताको चासो बढेको भैरव संरक्षण समितिका संरक्षक गौरी नारायण श्रेष्ठले बताउनुभयो । युवाहरुले बाध्य बाधन तथा नाचमा समेत चासो देखाएका कारण यसको संरक्षणमा महत्वपूर्ण सहयोग मिलेको छ । युवाहरुमा यस नाचको संरक्षणका लागि परेकाले आगामी दिनमा समेत महत्वपूर्ण भूमिका खेल्ने कालो भैरव नाच्ने युवा केशव श्रेष्ठले बताउनुभयो । भैरव नाचबाट उठेको रकम सामाजिक काममा लगाउँदै आएको समितिको भनाई छ । गएका वर्षहरुमा पनि समितिले गाउँमा कुल कुलेसो निर्माण, पँधेरो निर्माण र शतल निर्माणमा रकम खर्च गरेको संस्थाका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि उत्पादनशील काममा उक्त रकम लगाउने समितिले बताएको छ ।

भैरव नाच साझा सस्कृतिको रुपमा विकास हुन थालेको छ । नेवार समुदाका युवा तथा बृद्ध बृद्धाहरुले मादल बजाउने र नाच्ने भएपनि यसमा यस नाचमा कर्नल सनाई भने परियार समुदायले नै बजाउने गर्दछन । यसले समाजमा रहेका सबै समुदायको बीचमा आपसी सद्भाव कायम गर्न सघाउ पुगेको छ ।  त्यति मात्र नभई सामाजिक काममा भैरवमा उठेको भेटी खर्चिदै आएकोले भैरव नाच समुदायको साझा संस्कृतिको रुपमा विकास भएको छ । 

प्रतिकृया दिनुहोस