माहुरी पालक किसान माहुरी चराउँदै चितवनबाट दाङ


११ कातिक, दाङ । 
चितवनका माहुरी पालक किसान माहुरी चराउन दाङ आएका छन् । चितवनको मिलीजुली माहुरी पालक कृषक समूहमा आवद्ध तीन जना किसानहरु तीन सय घार माहुरी चराउन दाङ देउखुरीको सतबरीया आएका हुन् । अहिले चितवनमा माहुरीको लागि मौसम उचित नभएको र फूलबारी नभएको कारण दाङमा ल्याएको माहुरी पालक किसान बताउँछन् । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर, कमानपुर, उच्चानिम्बु लगायतको स्थानमा प्रशस्त तोरी बारी छन् । तोरीको रसबाट गुणस्तरीय मह उत्पादन हुने हुँदा आफूहरुले माहुरी चराउन दाङ ल्याएको किसान डिल्ली आचार्यले बताए ।
 
कात्तिक महिनामा फूल्ने तोरीको रसबाट माहुरीले जम्मा गर्ने मह निकै राम्रो मानिन्छ । त्यसैले ‘कात्तिके मह’ पारखीहरुको रोजाइमा पर्दछ । कात्तिके मह शुद्ध र स्वादिलो हुने र यसलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिने जानकारहरु बताउँछन् । ‘कात्तिके महको विशेष माग हुने भएकाले दाङबाट कात्तिके मह उत्पादन गर्न पाउनु हाम्रो लागि राम्रो अवसर हो,’ सापकोटाले भने ।

माहुरीपालक किसानहरुका अनुसार एउटा घारबाट ६ केजीसम्म मह उत्पादन गरेको बताउने माहुरी पालक किसानले वार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । तोरीको फूलमा माहुरीले मह बनाउनको लागि चाहिने रस र परागकणको मात्रा बढी हुने हुँदा पनि तोरीबारी माहुरी पालक किसानहरुको रोजाइमा पर्दछ । मानिसहरुले खेतबारीमा बिषादी प्रयोग गर्ने भएकाले माहुरी पालक किसानलाई प्रतिकुल असर पनि पर्ने गरेको छ ।

त्यसैले चितवनका धेरै माहुरीपालक किसानहरुका लागि दाङका तोरीबारी सुरक्षित गन्तव्य बन्ने गरेको छ । चितवनका माहुरीपालक किसानहरु गाडीमा दर्जनौं घार बोकेर कात्तिक महिनामा दाङ आउँछन् । करिब एक महिनापछि उनीहरु फेरि चितवन फर्किन्छन् किनभने कात्तिक महिनापछि चिउरी फूल्ने क्रम शुरु हुन्छ ।

स्थानीय कृषि सहकारीबाट मह काढ्ने औजार लगायतको सहयोग पाए पनि माहुरी पालक किसानले चरणस्थल अभाव भएको गुनासो गर्छन् । ‘माहुरी चराउनका लागि महिना(महिनामा स्थान परिवर्तन गर्दै हिँड्नुपर्छ, माहुरी घारसहित ढुवानी गर्नुपर्दा लागत पनि बढी लाग्छ,’ माहुरी पालक किसान कृष्ण पौडेलले भने । माहुरी चराउन खेतबारीको डिलमा घार राखेबाफत केही रकम जग्गा धनीलाई बुझाउने गरेको उनीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस