त्रिविको ग्रेडिङ प्रणाली गलत छ, तत्काल सच्याउनुपर्छ

त्रिभुवन विश्वविद्यालयले चार वर्षअघि ग्रेडिङ प्रणाली लागु गरेको थियो । ग्रेडिङ सिस्टम, ग्रेड पोइन्ट एभरेज (जीपीए) प्रणालीमा कमजोरी भएको त्रिवि स्वयम्ले स्वीकार गरेको छ । ग्रेडिङ प्रणालीमा समस्या देखिएपछि त्रिविले रेक्टरसहितको ४ सदस्यीय परिमार्जन कमिटी गठन गरेको छ । कमिटीलाई दिइएको समयसीमा सकिए पनि कमिटीमै एकमत नहुँदा अझै त्यसले आफ्नो सुझाव प्रतिवेदन दिन सकेको छैन । ग्रेडिङ प्रमाणाली गलत हुँदा यसले उत्पन्न गरेका समस्या, विद्यार्थीको भविष्यमा पर्ने प्रभाव लगाययतका विषयमा सुझाव कमिटीका सदस्यसचिव तथा (उच्च शिक्षा सुधार परियोजनाका सहायक निर्देशक) रामचन्द्र पोखरेलसँग बाह्रखरीका नरेश फुयाँल र विजेता चौधरीले गरेको कुराकानीः

चार वर्षअघि मात्रै लागु भएको ग्रेडिङ प्रणाली त्रुटिपूर्ण सावित भयो, कस्तो ग्रेडिङ प्रणाली हो यो जसको यति चाँडै विकल्प खोज्नुपर्यो ? 

हो, सरासर गलत भयो । अहिले जुन ग्रेडिङ प्रणाली अन्तर्गत नतिजा प्रकाशन भइरहेको छ त्यो गलत प्रकारले भइरहेको छ । गलत किन भन्नुको कारण एसईई र प्लस टुदेखि विश्वविद्यालय सबैमा नम्बर कति लिएर आयो त्यसैअनुसार ग्रेड दिइन्छ । यहाँ नम्बरअनुसार ग्रेड दिइन्छ । जुन शतप्रतिशत गलत प्रणाली हो ।

कसरी ग्रेडिङ गर्ने हो त ? के हो सही तरिका ?

नम्बरअनुसार ग्रेड दिने होइन, पोजिसनअनुसार ग्रेड दिने हो । नम्बर अनुसार दिने भए पहिलेको डिभिजन सिस्टम ठिकै थियो नि । यो अभ्यास नै गलत भयो । त्रिभुवन विश्वविद्यालय र म्यानेजमेन्ट फयाकल्टिले गलत प्रकारले ग्रेडिङ शुुरु गर्यो र त्यसैको नक्कल एसईईले गर्यो । एसईईको नक्कल प्लस टुले गर्यो । नक्कल पनि सतही तरिकाले गरिँदा त्रुटि देखिएको हो । जस्तै जीपीए ‘ए’ भनेको ४ हो, ‘बि’ भनेको ३ हो । लेटरग्रेडको एभरेज आउँदैन, कन्भर्ट गर्नुपर्छ । तर हाम्रो देशमा अक्षरको पनि एभरेज निकाल्ने चलन बस्यो । जुन विश्मा कहीँ हुँदैन । 

पाँच वटा विषयको परिक्षा दिँदा कुनै विषयमा ‘ए’ कुनैमा ‘बि’ वा ‘सि’ ल्याउँछौं । अर्कोले पनि त्यस्तै ल्यायो ‘ए’ ग्रेडको ४ जीपीए भयो त्यस्तै ‘बि’ को ३ भयो अब अक्षलाई हिसाब गर्ने बेला नम्बरमा कन्भर्ट गर्छौं जसलाई जिपिए भनिन्छ । त्यसको एभरेज नकिाल्ने बेलामा टपरलाई नम्बर दिने भन्यो भने, मानौं मेरो ३.२ आउला तपाईंको ३.७ आउला भनेपछि स्पष्ट रुपमा मैले नपाउने भए । त्यसैले लेटरको चाहिँ नम्बर एभरेज निकाल्नै  नमिल्ने भएकाले लेटरलाई नम्बरमा कन्भर्ट गर्ने कामलाई हामी ग्रेड प्वाइन्ट एभरेज (जीपीए) भन्छौं तर हाम्रो विश्वविद्यालय प्सल टु लगायतमा अक्षरमा पनि एभरेज निकालिदिएर ‘ए’ ल्यायो भनेर भन्छ । 

यस्तो गलत ग्रेडिङ प्रणाली कसरी लागु भयो त ?

नबुझेको मान्छेले निर्णय गरेर ल्यायो नि ! थाहा भएन र नजानिकन निर्णय लिनुपर्यो भने तपाई के गर्नुहुन्छ ? यसै विषयमाथि मैले अमेरिकामा पढ्ने अवसर पाएँ र यति कुरा थाहा पाउन सकेँ तर सबैले थाहा पाएका हुन्छन् भन्ने छैन । अब अलिकति जानेको विज्ञ, सल्लाहकार खोजेर बुझेर निर्णय लिनुपर्छ । सच्याउनुपर्छ । 

तपाईँ परिमार्जन कमिटीको सदस्य सचिव पनि हुनुहुन्छ, अब कस्तो ग्रेडिङको सुझाव दिने तयारी गरिरहेको छ, समितिले ?

विश्वविद्यालयले ०७४ को मंसिरमा एउटा कमिटी गठन गरेको थियो । त्यसको एउटा सदस्य म पनि हुँ तर हालसम्म त्यसको फाइनल रिपोर्ट आइसकेकै छैन । 

कमिटीलाई दिइएको समयसीमा सकिएको पनि धेरै भैसक्यो, के कारणले कमिटीले समयमै सुझाव प्रतिवेदन दिन सकेन ?  

हो, कमिटी बनाएको पनि धेरै समय वित्यो । ढिलाइको कारण के भने हाम्रो विश्वविद्यालयमा ग्रेडिङ सिस्टम सम्बन्धी बुझेको प्राध्यापकहरुको कमी छ । धेरैले बुझ्नु भएकै छैन । यता गलत प्रकारले प्रयाक्टिस भइसक्यो । हामीसँग सुझाव दिने समय त डेढ महिना मात्रै थियो तर नबुझेपछि नियम बनाउँदैमा लागु गर्न सकिन्न । हामी कमिटिमै कतिपयले यो सिस्टम बुझेका छैनांै । त्यस किसिमको पढाइ नेपालमा थिएन । बुझन्को लागि सयम लाग्छ । 

कमिटीमै ग्रेडिङको बुझाइमा एकरुपता छैन ?

छैन । कमिटीमा नै यसबारे बझाउनुपर्नेछ । धेरै साथीहरुको आआफ्नै बुझाइ छ । उहाँहरुलाई बुझाउन समय लाग्छ । प्राध्यापक हो, अरुले भनिदिएको भरमा ए हो त है भनेर सहमति जनाएर हस्ताक्षर गर्दैन । ऊ आफू पनि कन्भिन्स हुनुपर्छ । यसैले समय लिएको हो । 

भनेपछि यसअघि विनाअध्ययन हचुवाको भरमै ग्रेडिङ लगाइएको रहेछ ? 

हो । हचुवाको भरमै भन्दा हुन्छ । यसले गर्दा हाम्रो ट्रान्सक्रिप्ट पनि फरक फरक छन्, डिपार्टमेन्टअनुसार ग्रेडिङ फरक फरक छ । हुन् त विश्वविद्यालयअनुसार ग्रेडिङ सिस्टम विश्वभरी नै फरक फरक छ । तर सबैले बुझ्ने र स्वीकार गर्नसक्ने त हुनुपर्छ नि । त्यस्तो छैन । 

त्यसो भए यसले लाखौं विदार्थी र अभिभावकलाई मर्का पर्यो नि त !

त्रिविको जाँचमा ६३ प्रतिशत ल्याउने र ६० प्रशित ल्याउने विद्यार्थीको मूल्यांकन उस्तै देखियो । उस्तै देखिएपछि ३ देखि ४ अंकको भ्यालु नगन्य देखियो । हो यहिँनेर विद्यार्थीलाई मर्का पर्छ । उदाहरणको लगि टफेल लगायतका जुन जाँच दिएर विद्यार्थी पढ्न बाहिर जान्छन् त्यहाँ १ नम्बरको फरक देखिएर जितेको विद्यार्थी अमेरिका गयो भने उसको कक्षामा बस्दाखेरि अंग्रेजीको लेवल फरक देखिन्छ । १ र २ अंकको फरकले पनि निकै प्रभाव परिरहेको हुन्छ । हाम्रोमा ५ प्रतिशतमा अलिकति फरक देखिन्छ तर ६० र ६३ मा फरक छैन । जीपीएमा ६० र ६९ एउटै अंक देखिनुको कारण १० प्रतिशतमामात्रै फरक देखिन्छ भनेर राखेको हो । कट अफ स्कोर राख्दाखेरी विद्यार्थीलाई मर्का चाहिँ पर्छ ।

अब कमिटीले कस्तो ग्रेड प्रणालीका लागि सुझाव दिन्छ, कुनै नै कुनै खाकामा त पक्कै छलफल चलिरहेको होला नि ?

संसारका टपर १६ प्रतिशतलाई तिमी प्रथम श्रेणी, तिमी द्वितिय भनेर प्रतिस्पर्धा राम्रो नहुने भएपछि ग्रुपलाई प्रथम, द्वितिय र तृतिय बनाइन्छ । नम्बर कति ल्यायोसँग सरोकार राखिँदैन । टप १६ प्रतिशतलाई जस्तै कति नम्बर ल्यायो थाहा छैन, जाच लिइसकेपछि १ सय जना विद्यार्थी रहेछन् भने १६ जनालाई ‘ए’ वर्गको ग्रेड दिइन्छ । अनि बाँकी रहेको ६८ प्रतिशतलाई ‘बि’ वर्गको ग्रेड दिइन्छ भने बाँकी रहेको लोएस्ट १६ प्रतिशतलाई ‘सि’ वर्गको ग्रेड दिइन्छ । 

पहिलेकै सिस्टम अनुसार नै नम्बरका आधारमामा जाँच लिइन्छ र जाँच लिएका सबै विद्यार्थीको नम्बरकै पछाडि फेलको पहिले टुंगो लगाउँछन् । फेललाई चाहिँ ‘ई’ ग्रेड दिइन्छ । यो टेक्निकमा परीक्षा बोर्डले यतिको प्रश्नमा यतिको नम्बर ल्याउनुपर्छ भनेर पास र फेल छुट्याइसके पछाडि अनि बल्ल पास हुनेमा ‘ए,’, ‘बि’ र ‘सि’ ग्रेड दिइन्छ । 

सबै तहको शिक्षामा एउटै ग्रेड प्रणाली लागु हुने हो ?

ब्याचलर र मास्टर डिग्रीमा अलिकति ग्रेड फरक गरिन्छ । मास्टर डिग्रीमा विद्यार्थी सेल्फ मोटिभेटेड भएर गएका हुन्छन् । ब्याचलरमा कर बलले पनि पढ्न जाने र विद्यार्थी संख्या पनि धेरै हुने भएकोले ‘ए’, ‘बि’ र ‘सि’ र ‘डि’ चार किसिमको ग्रेड दिइन्छ । मास्टर लेवलमा चाहि प्रायः ‘ए’, ‘बि’ र ‘सि’ ग्रेड दिइन्छ । यसरी छुट्याइ सकेपछि कति नम्बर ल्यायो थाहा हुँदैन तर ग्रेड ल्याउने मध्ये यति चाहिँ अब्बल खालका हुन् भन्ने हुन्छ । 

नेपालमा पनि अमेरिकन मोडलको जीपीए लागु गर्न खोजिएको हो ?

हो, तर त्यस्तो भएको भए अहिले यो समस्या नै आउने थिएन नि । अमेरिकामा पनि विश्वविद्यालय अनुसार फरक फरक हुन पनि सक्छ र छ पनि । तर, जसको जीपीए जस्तोभए पनि त्यो विश्वभरका युनिभरसिटीले बुझ्ने खालको हुनुपर्छ । हाम्रो जीपीए नबुझेर कति समस्या झेल्नु परिरहेको छ त्यो पढ्न बाहिर जानेलाई मात्रै थाहा छ । 

विद्यार्थीले कस्ता दीर्घकालीन समस्या झेल्नुपर्ने भयो ? 

यो प्रणालीका कारण विद्यार्थीले ठूलो समस्या भोग्नुपर्ने हुन्छ । ‘ए’ ल्याउने विद्यार्थीले ‘बि’ ल्याएर गयो भने इन्टरनेश्नल लेभलमा के भ्यालु हुन्छ ?  ‘बि’ भन्ने वित्तिकै एभरेज विद्यार्थी हो । भर्ना वा जागिरको राम्रो अवसरबाट बञ्चित हुन्छ । छात्रवृत्ति नै पाउँदैन । यसको दीर्घकालीन असर उसको जीवनमा पर्छ । कक्षाको टपर थियो तर ग्रेडका कारण एभरेज विद्यार्थीमा गनिएपछि ऊ सम्पूर्ण राम्रा अवसरबाट स्वतः बञ्चित हुन्छ । एउटा होनहार विद्यार्थीको पूरै जीवन नै प्रभावित हुनेभयो । त्यसैले तत्काल यो गलत प्रणाली सच्याउनुपर्छ । 
     

 

 

प्रतिकृया दिनुहोस