स्वरोजगार कोषको लगानी कृषि र पशुपालनमा

दमौली-तनहुँमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत ६ करोड १७ लाख ५० हजार रुपैयाँ लगानी भएको छ । चार वर्षको अवधिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति तनहुँले उक्त रकम लगानी गरेको हो । कोषले १५ वटा सहकारी संघसंस्थामार्फत आर्थिक वर्ष २०७२-७३ देखि २०७४-७५ सम्म कर्जा लगानी गर्दै आएको समितिका सदस्यसचिव बसन्त दरैले बताए । जिल्लाका १५ वटा सहकारी संघसंस्थाले ४ सय २५ जनालाई कर्जा लगानी गरेका छन् । जसमध्ये २ सय १६ महिला र २ सय ९ पुरुष रहेको दरैले जानकारी दिए । 
आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल दुग्ध उत्पादक सहकारी संस्थाले ६० लाख, भानु नगरपालिका–६ स्थित भानु सामुदायिक विकास सहकारी संस्थाले ५५ लाख, ब्यास नगरपालिका–३ स्थित नविन उपभोक्ता सहकारी संस्थाले ५५ लाख, आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थाले ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

बन्दीपुर गाउँपालिका–६ स्थित मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्थाले ५० लाख, भानु नगरपालिका–१ स्थित परिवर्तनशील बचत तथा ऋण सहकारी संस्थाले ५० लाख, म्याग्दे गाउँपालिका–४ स्थित म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाले ५० लाख, घिरिङ गाउँपालिका–१ कालीगण्डकी कृषि सहकारी संस्थाले ४० लाख लगानी गरेको छ । 
त्यसैगरी बन्दीपुर गाउँपालिका–३ स्थित सुकौरा कृषि सहकारी संस्थाले ४० लाख, व्यास नगरपालिका–४ स्थित सहारा कृषि सहकारी संस्थाले ५० लाख, भानु नगरपालिका–५ स्थित समता कृषि सहकारी संस्थाले ४५ लाख, बन्दीपुर गाउँपालिका–१ स्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले १७ लाख ५० हजार, व्यास नगरपालिका–१ स्थित छाब्दीवाराही बचत तथा ऋण सहकारी संस्थाले २५ लाख, भिमाद नगरपालिका–३ स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले २० लाख र शुक्लागण्डकी नगरपालिका–११ स्थित थामडाँडा बचत तथा ऋण सहकारी संस्थाले १५ लाख लगानी गरेको समितिले जनाएको छ ।
कोष मार्फत रकम लिएकाहरूले गाईपालन, व्यापार, कुखुरापालन, तरकारी खेतीमा लगानी गरेका छन् । लगानी गरेको रकमको सदुपयोग भए-नभएको बारेमा कोषले अनुगमन समेत गरिरहेको दरैले जानकारी दिए । कोषमार्फत् बढीमा २ लाख र घटिमा ५० हजार रुपैयाँ लगानी गर्ने गरिएको छ । कोषबाट लगानी भएको रकम सदुपयोग भए-नभएको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
कोषले सहकारीलाई ५ प्रतिशत व्याजदरमा रकम उपलब्ध गराउने र सहकारीले सम्बन्धित व्यक्तिहरूलाई १० प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । रकम लिने व्यक्तिले नियमित भुक्तानी गरे तिरेको ब्याजको ६० प्रतिशत फिर्ता हुने प्रावधान छ । बेरोजगार युवालाई व्यावसायीकीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले देशभर कोष मार्फत् रकम लगानी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस