तिलोत्तमा नगर प्रमुखको पारिश्रमिकबाट ४४ जना विद्यार्थीलाई छात्रवृत्ति

 

तिलोत्तमा, साउन २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो पारिश्रमिक बापतको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्नुभएको छ । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसको आधारमा उहाँले छात्रवृति प्रदान गर्नुभएको हो ।

नगर प्रमुख घिमिरेले यसअघि नैं आफूले प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणाअनुसार उहाँले एक वर्षको पारिश्रमिक स्वरुप प्राप्त गर्नुभएको ३ लाख ८५ हजार रूपैयाँ एक समारोहबीच तिलोत्तमा नगरप्रमुख छात्रवृत्ति कोष–२०७५ मार्फत् वितरण गर्नुभएको हो । यो छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थीले प्राप्त गरेका हुन् ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा एक समिति गठन गरेको छ । सोही समितिको सिफारिसका आधारमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई  ६ हजार, कक्षा ३ र ४ का लागि ७ हजार, ५ र ६ को लागि ८ हजार, ७ र ८ को लागि ९ हजार, कक्षा ९ को लागि ९ हजार ५ सय, कक्षा १० को लागि १० हजार र कक्षा ११ को लागि १७ हजार रूपैयाँ वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृतिमा लगाउने निर्णय गरेको बताउनुभयो । आफूले बाँकी चार वर्षको पारिश्रमिक पनि छात्रवृत्तिमैं लगाउने बताउनुभयो ।  

यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्ष भित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयका स्तरमा पु¥याउने लक्ष्य लिएको छ । यहीँ लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान सुरू गरेको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारी समेत वितरण गरेको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा प्रमुख तथा उपसचिव हरि ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल, पत्रकार डायलसन अधिकारी र ईन्दिरा अर्याल, शान्ति नुमना माविका प्रअ कुलप्रसाद लामिछाने, अभिभावक नारायण ज्ञवाली लगायतले नगरप्रमुख घिमिरेले पारिश्रमिक बापतको रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्नुभएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो । नगर उप—प्रमुख जागेश्वरी चौधरीको सभापतित्व र विद्यालय निरीक्षक सुदीप गिरीको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस