बुद्धभूमि नगरपालिकाद्धारा ७३ करोड ६३ लाख बराबरको बजेट प्रस्तुत 

कपिलवस्तु, २९ असार ।
बुद्धभूमि नगरपालिकाले ७३ करोड ६३ लाख ७८ हजार बराबरको बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष ०७५÷०७६ का लागि नगरपालिकाले उक्त वजेट हिजो विनियोजन गरेको हो । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले तेस्रो नगरसभामा प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । 
नगर प्रमुख श्रेष्ठद्धारा प्रस्तुत बजेट अन्तर्रगत चालु खर्च तर्फ ४४ करोड ३२ लाख ७२ हजार र पूजीँगत खर्च तर्फ २९ करोड ३१ लाख छुट्याइएको छ । जसमा पूजीगत खर्च तर्फ विकास तथा समृद्धिका लागि आर्थिक विकास, समाजिक विकास, भौतीक पूर्वाधार, संस्थागत विकास तथा क्षमता अभिबृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
बजेटमा आर्थिक विकास तर्फ ४ करोड ४५ लाख ६२ हजार, समाजिक विकास शिक्षा तर्फ १६ करोड ८२ लाख ९३ हजार, स्वास्थ्य तर्फ ३ करोड ७४ लाख ३५ हजार, १० वटै वडाहरुको लागि वडा स्तरीय योजनाका लागि ६ करोड ५० लाख, खानेपानी तथा सरसफाइका लागि ६० लाख, पुरातत्व, प्राचिन स्मारक र संग्राहलयको संरक्षण, मठ मन्दिर मर्मत सम्भार, पूर्वधन र विकास कार्यक्रम तर्फ १ करोड १५ लाख, खेलकुद तर्फ ८६ लाख विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै समाजिक सुरक्षा भत्ता तर्फ १० करोड ९९ लाख ३ हजार, नगरस्तरिय ठूला पूर्वाधार तर्फ ८ करोड, नगरस्तरिय मझौला पूर्वाधार तर्फका विभिन्न सडक तथा संरचनाका लागि ४ करोड ५० लाख, सिंचाई योजनाका लागि १ करोड १५ लाख, विपद् जोखिम न्यूनिकरण गर्न र गरिवहरुको जीवनस्तर उकास्नका लागि २५ लाख, नगरभित्र २ सय जना अट्ने बहुउद्देश्यिय सभाहल निर्माणका लागि ६० लाख लगायतका विकास निर्माणमा बजेट विनियोजन भएको छ ।
नगरसभाबाट पारित बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले प्रस्तुत बजेटको सही कार्यान्वयनमा सबैको साथ अनिवार्य रहेको बताउनुभयो । जनताको चाहना धेरै रहेको र बजेटको आकार साना भएकोले सबैको मन जित्न नसके पनि बजेटले सबै क्षेत्रलाई समेट्ने कोशिस गरेको उहाले जिकिर गर्नुभयो ।
नगरकी उप प्रमुख मिरा चौधरीले नगरको बजेट सर्बसम्मत रुपमा अएकोले अब कार्यान्वयन पक्ष तिर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत मेघनाध पाध्याले चालु आर्थिक बर्ष सञ्चालित योजना मध्ये पूजीगत खर्च हाल सम्म ९२ प्रतिशत सम्पन्न भएको बताउनुभयो । 
बजेट सार्वजनिक कार्यक्रमको सञ्चालन शाखा अधिकृत केशव भट्टराईले गर्नुभएको थियो । बुद्धभूमि नगरपालिकाले गत असार १० गते नै बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेको भएपनि बजेट आज ल्याएको हो । नगरपालिकाले यस बर्षको नारा खुसी नगरबासी, सम्बृद्ध बुद्धभूमि ल्याएको छ ।
 

प्रतिकृया दिनुहोस