बेलहिया नाकामा बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने

 

भैरहवा, असार २७ ।

रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने भएको छ । सिद्धार्थनगर नगरपालिकाले १ करोड ५० लाख लगानीमा उक्त द्वार बनाउन लागेको हो ।

सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यहाँ नेपालको दोस्रो ठूलो भन्सार कार्यालय पनि छ । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौ पर्यटक लुम्बिनीमा भ्रमणमा आउँछन् । लुम्बिनी आउने अधिकांश पर्यटकले बुद्धजन्मस्थल प्रवशे गर्यौ भन्ने पत्तो समेत पाउँदैनन् । भारतीय गाइडले पर्यटक ल्याएर आउने भएकाले पनि उनीहरुले पत्तो नपाएका हुन् । तर अब भने यो समस्या हट्ने छ । सिद्धार्थनगरले बुद्ध जिवनीमा आधारित रहेर आकर्षक द्वार बनाउने भएपछि यो समस्या हट्ने भएको हो ।

नगरप्रमुख हरिप्रसाद अधिकारीले भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई अब बेलहियामा आउँदा वित्तिकै बुद्ध नगरी सिद्धार्थनगर र बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्दैछौं भन्ने सन्देश दिने आकर्षक द्वार बनाउन लागिएको बताए । ‘हाम्रो उद्देश्य बुद्धजन्मस्थलसँगै नगरपालिको प्रचार–प्रसार गर्नु हो’, उनले भने– ‘यहाँ आउने लाखौं बौद्धमार्गीहरुले नेपाल प्रवेश गर्दा वित्तिकै बुद्धको सामिप्यतामा आएको महसुस गर्ने छन् र यो सन्देश विश्वभरी फौलाउने छन् ।’ उनले द्वार निर्माण पछि यस क्षेत्रको होटल व्यवसाय समेत फस्ट्याउने बताए ।

‘सिद्धार्थनगरलाई पर्यटकीय हबका रुपमा विकसित गर्नु पनि हाम्रो लक्ष्य हो’, उनले भने– ‘पर्यटकलाई भारतीय गाइडले नेपाल प्रवेश गरेको थाहौ नदिई लुम्बिनी घुमाएर एकै दिनमा पुनः भारत र्फकाउने गरेका छन् । तर अब द्वारमै बुद्धजन्मस्थल प्रवेश गरेका थाहा पाएपछि धेरै पर्यटकले यहाँ रात बिताउने छन् र यसले पर्यटन क्षेत्र चलायमान बहुनेछ ।’

बेलहियामा अहिले पुरानो प्रवेशद्वार छ । उक्त प्रवेशद्वार साँगुरो छ । सडक विस्तारसँगै उक्त प्रवेशद्वार हटाएर सडक विभागले सामान्य बनाउने तयारी थालेको थियो । तर नगरपालिकाले आफ्नै लगानीबाट सन्देशमूलक बुद्धत्व झल्कने गेट बनाउने भएको हो । ‘बुद्ध जिवनीसँग आधारित रहेर द्वार बनाउँदा यसले विश्वका बौद्ध मार्गीहरुमा पनि राम्रो सन्देश फैलाउँछ’, उपप्रमुख उमा काफ्लेले भनिन्– ‘हामीले निर्माण गर्न लागेको द्वारले राष्ट्रिय स्वाभिमानसँगै अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार–प्रसार सँगै लुम्बिनीका बारे भ्रामक प्रचार पनि हट्छन् ।’ उनले द्वारा नेपालकै नमूना हुने बताउँदै निर्माण भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गरिन् ।

प्रवेशद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो हुनेछ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झण्न्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै द्वारामा बौद्ध ध्वनी गुन्ज्याएमान पनि हुने छ ।

पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, प्रभुद्ध व्यक्ति, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा प्रवेशद्वारको आकाडा तयार पारिएको नगरपालिकाले जनाएको छ । ‘लामो समयको अध्ययन, सबै क्षेत्रको सल्लाह सुझावमा अन्तिम डिजाइन तयार पारिएको हो’, नगरपालिकाका बरिष्ठ इन्जिनियर यमलाल पाण्डेले भने– ‘यसले नेपालको चिनारी र बुद्धको महत्वलाई झन बढवा दिने छ ।’

द्वारको डिजाइन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्केटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंलाई छनौट गरेरको थियो । उक्त कन्सल्टेन्सीले नगरपालिकालाई गेटको नमूना तयार पारी हस्तान्तरण गरिसकेको छ । अब टेन्डर आह्वान गरी ढेड महिनाभित्र निर्माण थालिने पाण्डेले बताए । उक्त द्वार २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस